Sunday, August 25, 2013

कमल थापा र कांग्रेसको सीट बढ्छ : एमाओवादी नेता

Voice of Gulmi, भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रीय सदस्य हरिबोल गजुरेलले आगामी चुनावमा नेपाली कांग्रेस र राप्रपा नेपालको सीट बढ्ने बताउनुभएको छ । पार्टी एकीकरण भएकाले राप्रपाले पनि समानुपातिकतर्फ सीट बढाउन सक्ने गजुरेलको विश्लेषण छ ।
आगामी चुनावमा एमालेले सबैभन्दा ठूलो पार्टी बन्छु भन्दा जनताले नपत्याउने उहाँको आरोप छ । ‘एमालेले फेरि हामी ठूलो पार्टी हुन्छौं भन्नु भनेको चुनाव हार्ने तरिका हो ।’ गजुरेलले अनलाइनखबरसँग भन्नुभयो, ‘आफ्नो स्थिति जे हो, त्यही भन्नुपर्छ, उटपट्याङ कुरा गरेर कसरी हुन्छ ?’
एकीकृत नेकपा माओवादी एक्लैले आगामी चुनावमा दुईतिहाइ ल्याउन नसक्ने गजुरेलले बताउनुभयो । ‘माओवादीले सरकार चलाउन बहुमत चाहियो, गठवन्धनलाई दुईतिहाइ दिनुस् भन्नु स्वभाविक हो । तर, हामीले आफैंले दुई तिहाइ ल्याउछौं भन्यो भने जनताले हामीलाई बेवकुफ भन्छन् ।’- उहाँले भन्नुभयो ।
‘कांग्रेसको घट्छ जस्तो मलाई लाग्दैन । कमल थापाहरु हुनुहुन्छ, राप्रपा एक भएको छ । यसले कांग्रेसको मत घटाउँछ ।’ गजुरेल भन्नुहुन्छ ।
एमाओवादी नेता गजुरेलले ‘कांग्रेसको अवस्थामा केही सुधारहुने देखिए पनि तीनवटा कारणले उसको भोट काटिने दाबी गर्नुभयो । सुदुर पश्चिममा ‘अखण्ड सुदुरपश्चिम’ ले कांग्रेसको भोट काट्ने उहाँले बताउनुभयो । त्यसैगरी चुनावमा संघीयताको कुरा आएपछि फेरि केही जनजातिहरुले कांग्रेस छाड्ने उहाँको अनुमान छ । अर्कोतिर राप्रपा र राप्रपा नेपालको मत बढ्दा कांग्रेसको मत काटिने गजुरेलको तर्क छ ।

No comments:

Post a Comment