Tuesday, August 20, 2013

नौ वर्षसम्म पनि विमानस्थल निर्माण अधुरै

नौ वर्षसम्म पनि विमानस्थल निर्माण अधुरै

  दुर्गा प्रसाद भण्डारी
     गुल्मी     हामै्र गाउँमा जहाज आउला भनेर घरवास सवै छोडेर हिडियो तर अहिलेसम्म केहीपनि काम भएन गुल्मीको सिमीचौरका वासिन्दा अहिले यस्तै गुनासो गर्न थालेका छन् । नौ वषअघि विमान स्थल निर्माणको लागी भन्दै सिमिचौरको थालेमाले डाँडाका सम्पुर्ण वस्ती हटाउने कार्य शुरु गरिएको थियो । तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं गुल्मी क्षेत्र नम्वर २ का सांसद प्रदिप कुमार ज्ञवालीको पहलमा उक्त विमनास्थल निर्माण सुरुवात भएको थियो । रेसुङ्गा विमानस्थल नामाकरण गरी २०६१ सालमा सर्वे गरिएको उक्त विमानस्थल करिब ९ करोड लागतमा निर्माण गर्ने भनिएपनि राजनीतिक दलको खिचातानीले निर्माण शुरु भएको ९ बर्ष वितिसक्दा विमानस्थल अधुरै छ । सदरमुकामसँगै जोडिएको गाविस सिमिचौर–५ थालेमालेमा रेसुङ्गा विमानस्थल निर्माण शुरु गरिएपनि राजनीतिक दलको विवादका कारण काम सम्पन्न हुन नसकेको हो ।
     २०६१ सालमा विस्तृत सर्भे भई ९ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी शुरु गरिएको विमानस्थलमा हालसम्म १ करोड रुपैयाँ र्खच भइसकेको भएपनि त्यस अनुरुपको काम भने हुन सकेको छैन । शुरुमा स्थानिय स्तरबाट समिति गठन गर्दा राजनीतिक दलको लामो समयसम्म खिचातानी गरेकाले प्रकृया अगाडी बढ्न नसकेको भन्दै गतवर्ष मात्रै जिल्लास्तरीय राजनीतिक दलको भागवन्डामा निर्माण समिति गठन गरिएको थियो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा समिति गठन गरिएपछि समितिले केहि काममा अगाडी बढाएको छ । आठ वर्षको अवधिमा र्निर्माणाधीन विमानस्थलसम्म मोटरबाटो लैजाने, घरपरिवारलाई मुआब्जा दिने, मैदान सम्याउने र पर्खाल लगाउने कार्य भइरहेको र्निमाण समितिका सचिव अशोक थापाले बताए । ‘सुरुका वर्षहरु भन्दा अहिले काम अलि तीव्र गतिमा भएको छ,’ सचिव थापाले भने, ‘आउँदो वर्षसम्म धावनमार्ग सम्याउने काम सकिन्छ ।’ तर स्थानीयवासिन्दा भने समितिको काम हेर्दा विश्वास गर्न नसक्ने वताउँछन् । सिमिचौर–५ का हिरामणी अर्यालले थालेमालेमा धेरै रकम खर्च भइसके पनि विमानस्थल निर्माण हुने आशा हराउँदै गएको वताए ।   केहीदिन काम गरेजस्तो गर्ने अनि महिनौँसम्म हराउने यस्तो तरिकाले कहिलेसम्म निर्माणसम्म हुन्छ, मलाई त वन्ला भन्ने आशा पनि छैन,’ उनले भने । समिति गठनमा राजनीतिक दलको खिचातानी, घरजग्गा मुआब्जामा समस्या र रकम अभावका कारण विमानस्थल निर्माण तिव्र गतिमा अगाडि वढ्न नसकेको हो ।
विमानस्थल निर्माण समितीका अध्यक्ष मधुकृष्ण पन्तले चालु आर्थिक वर्षमा नागरीक उड्ययन मन्त्रालयबाट २ करोड रकम विनीयोजन भएको र विभागले टेण्डर प्रकृया शुरु गर्न लागेको बताए । निर्माणको काम शुरु भएपनि विमानस्थल क्षेत्रभित्र पर्ने १९ परिवारलाई अझै मुआव्जा दिईएको छैन । अधिग्रहण गर्नुपर्ने ४६ परिवारको जग्गा मध्ये ३५ जनालाई मुआव्जा दिई उनीहरु बसाई सरिसकेका छन । निर्मिाण शुरु गरेको ८ वर्षसम्म पनि विमानस्थलका लागि भनेर सस्तैमा आफ्नो जग्गा उपलब्ध गराएका स्थानिय बासिन्दा चिन्तित बनेका छन् । छिटो विमानस्थलन निर्माण नभएर आफूहरुले पुरानै मूल्याङ्कन अनुसार जग्गा उपलब्ध गराउन नसक्ने उनीहरुको भनाई छ । ‘गाउँमा जहाज आउला भनेर वाउवाजेको जमिन दिईयो, अहिलेसम्म जहाज आउने छाँटै छैन,’ स्थानीय मोतिवहादुर दर्जिले भने, ‘उहीलेको मोलमा अहिले कसरी जग्गा दिन सकिन्छ ?’ अध्यक्ष पन्तका अनुसार मुआव्जा दिने रकम स्थानिय स्तरबाटै जुटानुपर्ने शुरुको प्रतिवद्धता भएकोले स्थानिय श्रोत नजुटेपछि १९ परिवारको जग्गाको मुआव्जा चुक्ता गर्न बाँकी छ । ६ सय १० मिटर धावनमार्गको लम्बाई रहेको विमानस्थलको कुल क्षेत्रफल ७८ रोपनी १० आना रहेको छ ।

No comments:

Post a Comment