Thursday, August 22, 2013

चुनावी माहोल बढ्दै । सम्भावित उम्मेदवारको चर्चा सुरु

Voice of Gulmi,मंसिर ४ गते हुने चुनावी माहोल बढ्दै गएको छ । सम्भावित उम्मेदवारको चर्चा पनि सुरु भएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा दलहरूले आफ्ना गतिविधि मतदातासमक्ष पुर्याउन थालेका छन् । एमालेले १ महिने निर्वाचन अभियान सम्पन्न गरेलगत्तै सुरु गरेको एमाओवादीले पनि १५ दिने अभियान सकेर सम्भावित उम्मेदवारको नामसमेत सिफारिस गरेको छ । कांग्रेसले पनि छिट्टै बैठक बसेर उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।एमाओवादीले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट सम्भावित १५ उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाओवादी स्रोतका अनुसार निर्वाचन क्षेत्र १ बाट प्राथमिकता क्रमअनुसार निर्वतमान सभासद सुदर्शन बराल, युवराज केसी, बाबुराम खरेल, तेजेन्द्र सलामी र सिर्जना त्ररामु, क्षेत्र २ बाट अशोक थापा, गणेश विश्वकर्मा, मनिराम ज्ञवाली, सुदर्शन बराल र रामप्रसाद पाण्डे, क्षेत्र ३ बाट वामदेव क्षेत्री, चन्द्रबहादुर थापा, दिनेश पन्थी, टंक पोखरेल र निमबहादुर पाण्डेको नाम सिफारिसमा परेको जिल्ला संयोजक सुदर्शन बरालले बताए । क्षेत्रीय कमिटी र अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिको सिफारिसमा एमाओवादीले क्षेत्र १ मा वर्तमान क्षेत्रीय सभापति युवराज केसी, २ मा टोपबहादुर रायमाझी र ३ मा बामदेव क्षेत्रीलाई उठाउने गरी तयारी भएको माओवादी स्रोतले जनाएको छ । निर्वाचन क्षेत्र २ मा एमालेबाट प्रदिप ज्ञवाली, कांग्रेसबाट चन्द्र भण्डारी र चन्द्र केसीमध्ये एक उम्मेदवार हुने भएकाले सोहीअनुसारकै उम्मेदवार दिन सके एमाओवादीले जित्न सक्ने विश्लेषणका साथ टोपबहादुर रायमाझीलाई ल्याउने पहल भएको र रायमाझी नआए निवर्तमान सभासद बराललाई ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।एमाओवादी जिल्ला संयोजक सुदर्शन बरालले विज्ञप्ति जारी गर्दै १५ दिने चुनावी अभियान सम्पन्न गरिएको र अभियानपछि तीन वटै निर्वाचन जित्न निष्कर्ष निकालिएको जनाएका छन् ।त्यस्तै, एक महिने अभियान सञ्चालन गरेर तीन वटै निर्वाचन क्षेत्र जित्ने दाबी गरेको एमालेले शनिबारदेखि पुनः विशेष अभियान सुरु गरेको छ । त्यसअन्तर्गत क्षेत्र ३ का सबै गाविस विभाजन गरेर घरदैलो अभियान सुरु भइसकेको जिल्ला सदस्य हीरा एसीले बताए । एमालेलेको पनि निर्वाचन क्षेत्र २ बाट प्रदिप ज्ञवाली र ३ बाट गोकर्ण बिष्टको नाम निश्चितजस्तै भए पनि क्षेत्र १ मा भने रामनाथ ढकाल, टीकाराम ढकाल, टीकाराम सापकोटा, अमर सिंजापति लगायतको नाम चर्चामा छ । क्षेत्र २ मा कमल श्रेष्ठ, कोशल पोखरेल र क्षेत्र ३ मा बोमबहादुर खड्काको नाम पनि चर्चामा छ ।त्यस्तै निर्वाचन अभियानमा अलि सुस्त देखिएको नेपाली कांग्रेसले पनि क्षेत्रीय समितिबाट सम्भावित उम्मेदवारको नाम सिफारिस भएपछि छिट्टै नै जिल्लाको बैठक बसेर नाम सिफारिस गरिने कांग्रेस उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए । कांग्रेसबाट क्षेत्र १ मा चन्द्र भण्डारी, सुवर्ण ज्वारचन र बेद मगर, २ मा चन्द्र केसी, चन्द्र भण्डारी, भुवन श्रेष्ठ र शालिक पन्थी र ३ मा रुद्रमणि शर्मा, त्रैलोक्यप्रताप सेन र दामोदर भुसालको नाम चर्चामा छ । चर्चामा रहेकामध्ये १ बाट भण्डारी, २ बाट केसी र ३ बाट शर्माको उम्मेदवारी हुने सम्भावना प्रबल रहेको कांग्रेसका एक जिल्ला सदस्यले बताए ।मंसिर ४ मा निर्वाचन भएमा जिल्लामा देशभरमै बढी मतदाता रहेको क्षेत्र २ मा केन्द्रीय नेताहरू एमालेका प्रदिप ज्ञवाली, कांग्रेसबाट चन्द्र भण्डारी वा केसी र एमाओवादीबाट रायमाझी उम्मेदवार बनेमा प्रतिस्पर्धा बढी हुने देखिन्छ । त्यस्तै क्षेत्र ३ मा पनि एमालेका गोकर्ण विष्ट, कांग्रेसका रुद्रमणि शर्मा र एमाओवादीका बामदेश क्षेत्रीको उम्मेदवारी परेमा कडा प्रतिस्पर्धा हुन सक्ने विश्लेषण छ ।

1 comment: