Friday, March 7, 2014

तीन मिनेट भाषण गर्न एक दिनको यात्रा.

Voice of Gulmi,भरत पाण्डेय धुर्कोट् (गुल्मी), २३ फागुन ।- जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका हुन्छन् । त्यसमा पनि जिल्लाको समग्र योजना बनाउने विषयमा उनीहरूको मन्तव्यले विशेष अर्थ राख्छ । तर गुल्मीको सातौँ जिल्ला परिषद्मा भने त्यसो हुन सकेन । जिल्ला परिषद् कार्यक्रम तैयारी गर्ने निकाय जिल्ला विकास समितिको फितलो व्यवस्थापनले यहाँका सभासद्हरूले एक दिनको यात्रा गरेर जम्मा तीन मिनेटमात्र भाषण गर्न पाए । उनीहरूले मन्तव्यका क्रममै त्यसप्रति गुनासो गरे । “हामी बुधबार बिहान ५ बजे गाडी चढेर साँझ ५ बजे यहाँ आयौँ, जिल्लाको विकासको विषयमा कुरा गर्न तर जम्मा तीन मिनेट समय भनेर छुट्याउनु हुन्थेन”– गुल्मीकी सभासद् दिलशोभा पुनले भन्नुभयो । सातौँ गणतान्त्रिक जिल्ला परीषद्मा सभासद्का लागि जम्मा तीन मिनेट भन्दै समय छुट्याएपछि उहाँले मन्तव्यकै क्रममा यस्तो बताउनुभयो । परिषद्मा जिल्लाका ससाना सङ्गठन र नेतादेखि सभासद्, पूर्वमन्त्री र मन्त्रीसम्म गरी अढाइ दर्जनभन्दा बढीको भाषण राखिएको जिल्ला परिषद् निकै लम्बेतान भएकाले खल्लो भएको कार्यक्रमका अतिथि र दर्शकहरूले बताए । उहाँले भन्नुभयो– “हामी आज संसद् बैठक छोडेर यहाँ कुरा गर्न आएका छाँै, जिल्लाको प्रतिनिधिको हैसियतले जिल्लाको विकासको विषयमा कुरा गर्नुपर्नेछ ।” पुनसहित गुल्मी जिल्लाका प्रत्यक्ष तीन र समानुपातिकका चार गरी सातजना सभासद् जिल्ला परिषद्मा मन्तव्य व्यक्त गर्न आएका थिए । उनीहरू सबैले मन्तव्य राख्ने क्रममा कार्यक्रम सञ्चालक जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले ‘कृपया छोटो मन्तव्यका लागि अनुरोध गर्दछु’ भन्ने वाक्यांश पटकपटक दोहो¥याउनुभएको थियो । सभासद् पुनसहित सुवर्ण ज्वारचन, सिर्जना तरामु, कमला विक लगायतले उद्घोषकको आग्रहबमोजिम यही दायरामा रहेर आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका भिडियोग्राफर हरि न्यौपानेले पनि लामो कार्यक्रम भएकाले समस्या भएको बताउनुभयो । “लम्बेतान कार्यक्रम छ, सबैको भिडयो खिच्न पुग्दैन, कसैको छुटे मेरो किन खिचिनस् भनेर गुनासो गर्छन्”–उहाँले भन्नुभयो–“यस्तो महत्वपूर्ण कार्यक्रम अलि मिलाएनन् ।” रासस

No comments:

Post a Comment