Voice of Gulmi,१८ पुस, काठमाडौं । अन्तरराष्ट्रिय
कम्युनिष्ट आन्दोलन (रिम)को सदस्य रहेको अफगानिस्तानको माओवादी पार्टीले
नेपालका प्रचण्ड र बाबुरामभन्दा अमेरिकी माओवादी नेता बब अभायकिन खतरनाक
रहेको निश्कर्ष निकालेको छ । आरसीपी अमेरिकाले नेपालका माओवादीबारे गरेको
पत्राचारको जवाफ दिनेक्रममा आफगान माओवादीले प्रचण्ड, बाबुराम र बब
तीनैजनालाई ‘उत्तर मालेमावादी संशोधनवादी’ को संज्ञा दिएको छ ।
‘सैद्धान्तिक हिसाबले प्रचण्ड र बाबुरामको
संशोधनवादभन्दा पनि आरसीपी अमेरिकाका नेता अभायकिनको संशोधनवाद गहिरो र
फराकिलो छ । तर, आधारभूत रुपले प्रचण्ड, बाबुराम र अभायकिनको उत्तर
मालेमावादी संशोधनवादमा कुनै भिन्नता छैन ।’ – रिमसँग भर्खरै विद्रोह गरेर
नयाँ अन्तराष्ट्रिय माओवादी संगठन बनाउने पहलमा लागेको अफगान माओवादीले
बबलाई लेखेको पत्रमा भनेको छ । ‘यो तथ्य हो कि रिमलाई विघटन गर्न प्रचण्ड
बाबुरामले महत्वपूर्ण भूमिका खेले । तर, अभायकिनको भूमिका पनि कम रहेन ।’
आफगान माओवादीले रारसीपी अमेरिकाका नेता
अभायकिनले रिमका सदस्यमाथि ‘सुपरपावर’ को ‘हेजिमोनी’ देखाएको र आफ्नै
पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता माइक एलीलाई हटाएको आरोपसमेत
लगाएको छ । बबले अघि सारेको ‘न्यू सेन्थेसिस’ (नयाँ संश्लेषण) सिद्धान्तलाई
प्रचण्डपथ र गोञ्जालो विचारधाराजस्तै ‘अभायकिनपथ’ को संज्ञा दिएको छ ।
यसलाई एक्काइशौं शताब्दीको संशोधनवादको उपमासमेत दिएको छ ।अफगान माओवादीका
अनुसार पेरुकोभन्दा नेपालको माओवादी जनयुद्धमा देखिएको विचलन खतरनाक छ । र,
यसविरुद्ध जुध्नु आफ्नो पार्टीको कर्तव्य भएको बताएको छ ।
अफगानी माओवादीले प्रचण्ड र बाबुरामको
‘संशोधनवाद’ विरुद्ध विद्रोह गरी नेकपा-माओवादी गठन भएकोमा खुशीसमेत प्रकट
गरेको छ । त्यसैगरी जनयुद्धकालमा प्रचण्ड र बाबुरामले भारतलाई चिठी
लेखेकोमा विरोध गर्दै आएको वैद्यपक्षीय माओवादीले अफगान लगायत विश्वभरिका
माओवादीसँग भित्रभित्रै सम्बन्ध गाँस्ने प्रयत्न गरिरहेको छ ।
रिमको पुनर्गठन गर्ने सहमति
यसैवीच बाबुराम, प्रचण्ड र बब अभायकिनका
कारण अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन -रिम) विघटन भएको भन्दै गत
नोभेम्बर २४ मा हम्बर्ग जर्मनीको ह्याम्बर्गमा २५ देशका माओवादी पार्टी र
संगठनको सहभागितामा माओवादी पार्टी र संगठनहरुको अन्तरराष्ट्रिय सम्मेलन
भएको र त्यहाँ भारतीय जनयुद्धको समर्थनमा ऐक्यवद्धता जनाइनुका साथै माओवादी
पार्टीहरुको नयाँ अन्तरराष्ट्रिय संगठन बनाउने सहमति भएको खुलासासमेत भएको
छ ।
सन् १९८४ मा १७ देशका माओवादी पार्टी र
संगठन मिलेर अन्तराष्ट्रिय कम्युनष्टि आन्दोलन (रिम) गठन गरिएको थियो ।
जनयुद्धकालदेखि नै नेपालको माओवादी रिमको सदस्य थियो । अहिले पनि एमाओवादी र
माओवादी दुबैले आफ्ना दस्ताबेजमा रिमसँग सम्बन्ध विकास गर्ने बताएका छन् ।
तर, रिम फुटिसकेको र विश्वका अधिकांश पार्टीहरु नेपाल र अमेरिकाका माओवादी
नेताको विरोध गर्दै भारतीय माओवादीको समर्थनमा खुलेर लागेका छन् । भाकपा
माओवादी पनि यसअघि रिमको सक्रिय सदस्य थियो ।
No comments:
Post a Comment