Thursday, January 3, 2013

किन सफल भएन लुम्बिनी भ्रमण बर्ष ?

Voice of Gulmi,

१८ पुस, काठमाडौं । भर्खरै बिदा भएको सन् २०१२ का लागि सरकारले चारवटा मुख्य महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको थियो ।
लगानी वर्ष, लुम्बिनी भ्रमण वर्ष, सहकारी वर्ष र कर संकलन वर्ष । कर संकलनमा केही चेतनामुलक कार्यक्रम देखिएपनि अरु कार्यक्रम निष्प्रभावी देखिए । लगानी वर्षमा विदेशी लगानीकर्तालाई आकषिर्त गर्न नसकिएजस्तै लुम्बिनी भ्रमण वर्षमा पनि सोचेजति पर्यटक भित्र्याउन सकिएन ।
सरकारले सन् २०१२ मा लुम्बिनीमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर साढे सात लाख पर्यटक मात्र लुम्बिनी भ्रमणमा आएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन् २०१२ मा सातलाख ५८ हजार २ सय ६९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । ‘यो पोहोरको तुलनामा झण्डै ३० प्रतिशतले बढी हो’ कोषका सञ्चार अधिकृत हरिध्वज राईले भन्नुभयो-’लक्ष्यअनुसार नभएपनि यसलाई हामीले सन्तोषजनक तथ्याँकको रुपमा लिएका छौं ।’
तर, सबैलाई यस्तो लाग्दैन । ‘तथ्यांक बढे पनि यो सन्तोषजनक हैन’ नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले अनलाइनखबरसित भन्नुभयो । तथ्यांकमा विदेशी भन्दा नेपाली पर्यटक बढेको देखिएको छ ।
समन्वयको अभाव
यसअघि सन् २०११ मा पर्यटन वर्ष घोषणा हुँदा सरकारी र निजी क्षेत्रले उत्तिकै प्राथमिकता दिएका थिए । देशविदेशमा उत्साह थियो । ‘सरकारले पर्याप्त रकम पनि छुट्याएको थियो र कामको बाँडफाँड समेत भएको थियो’ पर्यटन बोर्डका प्रवक्ता बरालले भन्नुभयो-’अहिले हल्ला मात्रै भयो, काम भएन ।’
आपसी समन्वय र जिम्मेवारी बाँडफाँडको अभावले लक्ष्य अनुसार काम हुन नसकेको उहाँको भनाई छ । ‘सबैले आआफ्नै पाराले काम गरे, तर समन्वय भएन’ बरालले भन्नुभयो-’त्यसैले लुम्बिनीमा लक्ष्य अनुसार पर्यटक आउन सकेनन् ।’
महत्वपूर्ण काम
लुम्बिनी भ्रमण वर्षका अवसरमा केही महत्वपूर्ण काम गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । यसअघि चीन र कोरियाका स्कूल तथा कलेजका पाठ्यक्रममा गौतमबुद्ध भारतमा जन्मेको भन्ने उल्लेख थियो । भ्रमण वर्षमा कुटनीतिक पहलमार्फत यो पाठ्यक्रम परिवर्तन गरिएको छ । ‘अब चीन र कोरियाका पाठ्यक्रममा बुद्ध भारतमा होइन, नेपालको लुम्बिनीमा जन्मिएका हुन् भनेर पढाई हुन थालेको छ’ कोषका सञ्चार अधिकृत राईले भन्नुभयो ।
यस्तै भ्रमण वर्षकै अवसरमा देशको पूर्वदेखि पश्चिमका बिभिन्न एकसय ८ ठाउँमा दूरी माइलस्टोन राखिएको छ । अर्थात ‘लुम्बिनी आउन……किलोमिटर बाँकी’ भनेर ठाउँठाउँमा राखिएको छ । बिभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा लुम्बिनी र नेपालको बारेमा होर्डिङबोर्ड राख्ने योजना भएपनि त्यो भने सफल हुन सकेन । ‘कुटनीतिक पहल गर्नुपर्ने र जुनसुकै ठाउँमा पनि होर्डिङबोर्ड राख्न नपाइने भएकाले यो योजना सफल हुन सकेन’ राईले भन्नुभयो ।

No comments:

Post a Comment