Monday, January 7, 2013

सुशील प्रधानमन्त्री बन्न नसकेको दोष सिटौलामाथि

Voice of Gulmi,

प्रचण्डलाई मात्रै प्राथमिकता दिइएको आरोप

२३ पुस, काठमाण्डौ । सहमतीय सरकार गठन गर्न प्रयाप्त भूमिका खेल्न नसकेको भन्दै सभापति सुशील कोइराला महामन्त्री कृष्णप्रसाद सिटौलासँग असन्तुष्ट हुनुभएको छ । पार्टीले सभापति कोइरालालाई सहमतीय प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि सहमति जुटाउन सही कदम नचालेको भन्दै सभापति कोइराला महामन्त्री सिटौलासंग असन्तुष्ट रहेको स्रोतको दाबी छ ।
‘दिनहुँजसो बिहान एकपटक कोइराला निवास महाराजगञ्ज पुग्ने सिटौला केही दिनयता त्यहाँ जानै छोड्नुभएको छ ।’ स्रोतले भन्यो, ‘आजभोलि उहाँहरुवीच भेटघाट नै भएको छैन । पहिले पार्टीभित्र र बाहिरका कुराहरुमा सभापतिले सिटौलासँग छलफल र सुझाव लिनुहुन्थ्यो । तर, आजकाल त्यो न्यून भएको छ ।’ स्रोतका अनुसार सिटौलाले कोइरालाको नाममा सहमति जुटाउन सबै राजनीतिक दलका नेताहरुसंग छलफल नगरेको भन्दै कोइराला असुन्तष्ट हुनुभएको हो । स्रोतले भन्यो, ‘पार्टीले प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा उठाइसकेपछि सिटौलालाई सहमति जुटाउनका लागि दिएको जिम्मेवारी पूरा गर्न सक्नुभएन ।
पार्टीले सिटौलालाई प्रधानमन्त्री डा बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्डलगायत सबै दलका नेतासंग छलफल गरेर सहमति जुटाउने जिम्मेवारी दिएको थियो । तर त्यो पूरा गर्न नसकेकोमा सभापतिजी सिटौला र डा मिनेन्द्र रिजालसँग असन्तुष्ट हुनुभएको छ ।’
प्रचण्डलाई मात्रै प्राथमिकता दिएको आरोप
सिटौलाले सहमतिका लागि एमाओवादीका अध्यक्ष प्रचण्ड र एमाले नेताहरुसंग मात्रै छलफल गरेर गल्ती गरेको भन्दै सभापति कोइराला असन्तुष्ट बन्नुभएको स्रोतको दाबी छ । सभापति कोइरालाले सहमतिका लागि प्रधानमन्त्री भट्टराईलगायत नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, मधेशी मोर्चाका नेताहरुसंग छलफल गर्न भन्नुभएको थियो । तर, सिटौलाले प्रचण्डलाई मात्रै मनाएर सहमति भइहाल्छ भन्नेेतर्फ लागेर सहमतिकै बातावरण बिगारेको भन्दै कोइराला रुष्ट भएको स्रोत दाबी छ । स्रोतका अनुसार सिटौलाले प्रचण्डसँगमात्रै छलफल गरेर बाहिर गलत सन्देश फैलाएको बुझाइ महाराजगञ्जको छ ।
सहमति जुटाउन सकिएन : सिटौला
महामन्त्री सिटौलाले आफूले प्रयास गर्दागर्दै पनि सहमति जुटाउन नसकेको बताउनुभयो । ‘सहमति जुटाउन खोज्दा पनि नसकिएपछि कतिपय मानिसले कुरा काट्नु स्वाभाविकै हो ।’ राजधानी बाहिर रहनुभएका सिटौलाले अनलाइनखबरसँग भन्नुभयो- ‘तर, यसैले गर्दा सभापतिजीसँग सम्बनध चिसिएको भन्नुचाँहि गलत हो ।’

No comments:

Post a Comment