Voice of Gulmi,
२५
पुस, काठमाण्डौ । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको आरोपमा पक्राउ
परेका आरोपीमाथि कारबाही गरेर शान्तिप्रक्रिया भाड्न खोजेको भन्ने
प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार
महासंघले आपत्ति जनाएको छ ।
प्रेस युनियन र चौतारीको विरोध
बुधवार विहान बसेको महासंघको आकस्मिक
वैठकले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको र दण्डहीनतालाई
प्रश्रय दिनेखालको भएको ठहर गरेको महासंघका अध्यक्ष शिव गाउँलेले जानकारी
दिनुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा महासंघले अपरान्ह ४
काठमाण्डौको नयाँ बानेश्वरमा शान्ति दीप प्रज्वलन गर्ने गाउँलेले वताउनुभयो
। बैठकले घटनावारे थप बुझ्न महासंघको एक मिसन टोली दैलेख जाने भएको छ ।
प्रेस युनियन र चौतारीको विरोध
यस्तै काँग्रेस निकट पत्रकारहरुको संस्था
नेपाल प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले पनि प्रधानमन्त्रीको
अभिव्यक्तिको विरोध गरेका छन् । यूनियद्वारा जारी विज्ञप्तिमा हत्यामा
संलग्न अभियुक्तहरुको कार्वाही प्रक्रिया रोक्न प्रधानमन्त्री बाबुराम
भट्टराईले निर्देशन दिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । युनियनका
अध्यक्ष किरण पोख्रेलले वुधवार विज्ञप्ति जारी गरी जघन्य अपराधमा
संलग्नहरुको कार्वाही रोक्न निर्देशन दिने भट्टराईको हर्कत प्रेस
स्वतन्त्रता विरोधी मात्र नभर्इ विधिको शासन, लोकतन्त्र र सामान्य नागरिकको
जीउन पाउने अधिकारमाथि ठाडो प्रहार भएको बताउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ ,’अपराधीहरुलाई
कानुनको दायरामा ल्याउँदा प्रधानमन्त्री भट्टराईले भनेजस्तो शान्ति
प्रक्रिया विथोलिने हो भने त्यस्तो शान्तिको कुनै अर्थ छैन। पत्रकार
थापालाई जीउँदै गाड्ने सावीति बयान दिएका अपराधीहरुलाई उन्मुक्ति दिलाउन
चाहने यस्ता मानवीय संवेदना शून्य पात्रलाई देशको प्रधानमन्त्री जस्तो
गरिमामय पदमा स्वीकार गर्नुपर्दा हामी लज्जित छौ। ‘
यसैगरी प्रेस चौतारी नेपालले पनि
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीका महासचिव विष्णु रिजालले एक विज्ञप्ति जारी गरी थापाको हत्यामा
संलग्न अभियुक्तहरुमाथि कारवाहीका लागि लामो समयदेखि जारी कानुनी
प्रक्रियाले ठोस आकार ग्रहण गर्न लागेको बेला त्यसलाई विथोल्ने, अघि बढ्न
नदिने र सार्वजनिक रुपमै कानुनी प्रक्रियाप्रति आपत्ति जनाउने भट्टराईको
क्रियाकलापप्रति आपत्ति जनाउनु भएको छ ।
यस्तै रिपोर्टस क्लब नेपालले
पनि प्रधानमन्त्रीले थापा हत्याका आरोपीलाई कारवाही नगर्न संयन्त्रलाई
दिएको निर्देशन र हत्याका आरोपीलाई कारबाही नहुने भनी दिएको अभिब्यक्तिले
चिन्तित बनाएको जनाएको छ । अध्यक्ष ऋषि धमलाद्वारा बुधबार जारी विज्ञप्तिमा
दण्डहीनताको अन्त्य गर्ने दायित्व बोकेका प्रधानमन्त्रीबाट यस्तो कुरा
आउनु मुलुक र नेपाली जनताको घोर बेईज्जत भएको उल्लेख छ । उसले लोकतन्त्र र
कानूनी शासनमा सबै नागरिकको लागि कानून बराबर हुने स्थापित मान्यताविरुद्ध
अनुसन्धानलाई प्रभावित पार्ने र दोषीहरुलाई उन्मुक्ति दिने कुत्सित मनसायले
भईरहेका गतिविधि तत्काल रोकेर पत्रकार हत्यारालाई कारवाहीको बातावरण बनाउन
माग गरेको छ ।
No comments:
Post a Comment